सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले नयाँ सरकार गठनसँगै बजेट निर्माणको काम अघि बढिसकेकाले प्रदेश लामो समय बजेटविहीनताको अवस्थामा नरहने बताउनुभएको छ ।
मुख्यमन्त्री भट्टले आइतबार रासससँग कुरा गर्दै सीमित स्रोतसाधनको अधिकतम् सदुपयोग गर्दै शिक्षा, स्वास्थ्य, सुशासन र जनताले प्रत्यक्ष अनुभूति गर्ने विकास योजनालाई प्राथमिकता दिइने बताउनुभयो ।
“पक्कै हामी फरक ढङ्गले काम गर्नेछौँ । बेथिति अन्त्य, भएको बजेट र स्रोतको अधिकतम सदुपयोग, टुक्रे होइन, जनताले अनुभूति गर्ने योजना, शिक्षा र स्वास्थ्यमा सुधारलगायत क्षेत्रमा लगानी गर्छौं”, उहाँले भन्नुभयो ।
मुख्यमन्त्री भट्टले आफू नेतृत्वमा रहँदा वा जिम्मेवारीबाट बाहिरिँदा कुनै प्रश्न नउठ्ने गरी काम गर्ने बताउँदै प्रदेश सरकारको गरिमा र सङ्घीयताको सबलीकरणमा जोड दिने उल्लेख गर्नुभयो । उहाँले आगामी बजेट निर्माणमा नागरिकका सुझाव र विज्ञहरूको दृष्टिकोणलाई समेत समेटिने बताउनुभयो ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सुदूरश्चिम प्रदेशसभा संसदीय दलका नेता भट्ट गत शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा सुदूरपश्चिम प्रदेशको पाँचौँ मुख्यमन्त्री नियुक्त हुनुभएको हो । उहाँसँग राससका टिकाराम सुनार, तिलकराज ओझा र रमा चन्दले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छः
प्रश्नः सङ्घीयता कार्यान्वयनमा आएपछि दोस्रोपटक निर्वाचित प्रदेशसभाको धेरै समय बाँकी छैन । प्रदेशसभा, प्रदेश सरकार र पुराना दलको भूमिकामाथि विभिन्न टिप्पणी भइरहेका बेला तपाईं मुख्यमन्त्री बन्नुभएको छ । यो समयलाई कसरी उपयोगी बनाउने सोच बनाउनुभएको छ ?
– हामीसँग समय सीमित छ, तर समयको कुनै सीमा हुँदैन । कसैले धेरै समय पाएर पनि बर्बादी गरेका छन् भने कसैले थोरै समय पाएर पनि इतिहासमा पटकपटक दृष्टान्त दिने काम गरेका छन् । मेरो प्रयास यो समयलाई बढीभन्दा बढी प्रेरणादायी काम कसरी गर्न सकिन्छ भन्नेमा हुनेछ ।
अहिलेका कार्यभार सार्वजनिक नै छन् । सुशासन कायम गर्दै जनतालाई कसरी सेवा प्रवाह गर्ने, रुपान्तरणकारी र नवप्रवर्तनसँग सम्बन्धित काम कसरी गर्ने तथा प्रदेशको औचित्य तथा उपादेयताबारे उठेका प्रश्नको जवाफ कसरी दिने भन्ने अहिलेका ज्वलन्त प्रश्न हुन् । हाम्रो ध्यान तिनै प्रश्नको उत्तर दिने, यहाँको गरिबी, बेरोजगारी र अभावलाई समाधान गर्ने दिशामा केन्द्रित हुनेछ । हाम्रो ध्यान त्यसका लागि प्रस्थान के हुने भन्नेमा केन्द्रित छ । हामी त्यसमा गम्भीर, जवाफदेही र इमान्दार भएर प्रस्तुत हुन्छौँ ।
म चमत्कार नै गर्छु भन्दिनँ । म यति मात्रै भन्छु–यो कुर्सीमा बस्दा र बिदा हुँदै गर्दा मेरो चरित्रमा दाग लाग्न दिने छैन । मेरो पहिलो सङ्कल्प यही हो । दोस्रो, मेरो कार्यकालमा केही न केही नयाँ भयो है भनेर आम जनताले बुझ्ने गरी काम गर्नेछु ।
प्रश्नः प्रमुख प्रतिपक्षी दलको नेता हुँदा वा अन्य समयमा प्रदेशको विकासका लागि उठाउँदै आउनुभएको आवाज अहिले आफैँ सम्बोधन गर्ने ठाउँमा पुग्नुभएको छ । तपाईंका प्राथमिकता के–के छन् ?
– सुदूरपश्चिम राज्यको सीमान्तकृत परिभाषाभित्र छ । यो प्रदेशलाई राज्यको मूल विकासप्रवाहमा कसरी ल्याउने भन्नेमा मेरो ध्यान हुनेछ । त्यसका लागि प्रदेश सरकारले आफैँ गर्ने काम तथा सङ्घीय सरकार र स्थानीय तहसँगको समुचित समन्वयमा गर्ने कामको योजना बनाउँछौँ । हामी फरक ढङ्गले काम गर्छौं । बेथिति अन्त्य, भएको बजेट र स्रोतको अधिकतम सदुपयोग, टुक्रे होइन जनताले अनुभूति गर्ने योजना, शिक्षा र स्वास्थ्यमा सुधार, व्यवस्थित सेवा प्रवाह र जनताको पहुँचमा सरकार छ भन्ने अनुभूति दिलाउने गरी काम गर्नु हो ।
हामी भर्खरै नेतृत्वमा आएका छौँ । त्यसैले ऐन, कानुन, कर्मचारीको स्थिति, भौतिक तथा प्राविधिक संरचना, हालसम्मको कार्यसम्पादन र त्यसका प्रक्रिया, नीति, कार्यक्रम तथा बजेटसँग जोडिएका समग्र पक्ष हेर्दैछौँ । आठ वर्षको कामको समालोचना र समीक्षा पनि गर्दैछौँ । अहिले नै बृहत्तर सुधार हुन्छ भनेर भन्न सकिँदैन । माथिका सबै पक्षको समीक्षा भइसकेपछि नयाँ ढङ्गले काम हुन्छ । केही फरक हुन्छ, हुन्छ । हामी काल्पनिक कुरा गर्दैनौँ, प्रदेशको यथार्थ अवस्थामा टेकेर काम गर्छौं । सुशासन मूल प्राथमिकता हो । त्यसमा टेकेर प्रस्थान भएमा सबै पक्ष सुधार हुँदै जान्छ भन्ने लाग्छ ।






