काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्राप्त जनमतको कदर गर्दै अहंकार नत्यागे इतिहास दोहोरिने चेतावनी दिएका छन्। प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले झण्डै दुई तिहाइको विशाल बहुमतलाई ‘अहंकारको मलखाद’ बन्न नदिन सुझाव दिएका हुन्।

सम्बोधनका क्रममा प्रचण्डले भने, ‘हार सहन जति गाह्रो हुन्छ, जित पचाउन त्योभन्दा गाह्रो हुन्छ। सङ्ख्या कहिल्यै स्थायी हुँदैन, न त जनताको समर्थन निःशर्त हुन्छ। हिजो नेकपाको रूपमा हामी पनि यही साइजमा थियौँ, तर हाम्रै कमजोरीका कारण त्यो टिकेन। हाम्रो अनुभव र इतिहासबाट सिक्नोस्, यो बहुमतलाई अहंकारको मलखाद बन्न नदिनुहोस्।’

प्रचण्डले वर्तमान सरकारको कार्यशैलीमाथि आलोचना गर्दै गरिब, सुकुम्वासी र निमुखा जनतालाई उठिवास लगाएर र बिचल्ली पारेर बिना कुनै विकल्प सुकुम्वासी बस्ती भत्काउनु र सीमा क्षेत्रका गरिबलाई सास्ती दिनु लोकतान्त्रिक पद्धति नभएको बताए ।

उनले अहिलेको समावेशी र समानुपातिक संसद आफूहरूको रगत र बलिदानको जगमा बनेको स्मरण गराउँदै यसको अपमान नगर्न आग्रह गरे। विद्यार्थी संगठन र ट्रेड युनियनको आवाज थुन्ने प्रयासलाई उनले ‘प्रतिगामी कदम’ को संज्ञा दिए।

प्रतिक्रिया दिनुहोस् !