काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले आफूविरुद्ध भ्रमपूर्ण प्रचार भइरहेको भन्दै प्रष्टीकरण दिएका छन्। मंगलबार एक भिडियो सन्देशमार्फत उनले हाल केही दिनयता आफूले नयाँ पार्टी गठन गर्न खोजेको, विदेशमा सम्पत्ति रहेको, सन्तान विदेशमा रहेकोजस्ता गलत प्रचार भएको भन्दै ती सबैको खण्डन गरेका हुन्।
‘केही दिनदेखि मेरो बारेमा विभिन्न भ्रामक समाचारहरू प्रचार गरिएको अवस्था मैले पाएको छु। म यसको गम्भीर खण्डन गर्छु,’उनले भने, ‘मैले पार्टीको पुनर्गठन, रूपान्तरण र शुद्धीकरणका विषयमा विगत दुई वर्षदेखि बहस गर्दै आएको छु, तर यस बहसलाई डाइभर्ट गर्नका लागि झूटा समाचारहरू फैलाइएका छन्।’
शर्माले नयाँ पुस्ता र नयाँ सोचसहित पार्टी निर्माण आवश्यक भएको कुरा आफूले बारम्बार उठाउँदै आएको बताए। तर ’फलानाको नेतृत्वमा नयाँ पार्टी बनाउँदैछ’ भन्ने प्रचारलाई उनले भ्रमपूर्ण र निराधार भनेका छन्। ‘पार्टी रूपान्तरण र शुद्धीकरणको कुरा मैले दुई वर्षदेखि उठाउँदै आएको छु, तर कुनै व्यक्तिको नाममा नयाँ पार्टी बनाएको होइन,’ शर्मा स्पष्ट पारेका छन् ।
शर्माले आफूले अमेरिकामा सम्पत्ति र ग्यास स्टेसनहरू राखेको भन्दै भ्रमपूर्ण प्रचार गर्ने काम भएको भन्दै कडा आपत्ति जनाएका छन् । बरु आफूले बारम्बार संसद् र पार्टीभित्र २०४६ सालपछि ओहोदामा बसेका सबै नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने प्रस्ताव गरेको बताए । यस्तै उनले आफ्ना दुई सन्तान नेपालमै रहेको पनि बताएका छन् ।






