काठमाडौँ। कक्षा १२ को राष्ट्रिय परीक्षा अब वैशाख २१ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने परीक्षा २१ गतेदेखि गर्ने निर्णय गरेको हो। शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा सरेको हो।

यसअघि बोर्डको आज बिहान बसेको बैठकले तोकिएकै मितिमा परीक्षा गर्ने निर्णय गरेको थियो। कर्मचारी परिचालन गरेर भए पनि परीक्षा सार्ने भनेको थियो। त्यसको शिक्षकहरूले प्रतिरोध गर्ने चेतावनी दिएका थिए भने ट्रेड युनियनहरूले समेत कर्मचारीले परीक्षा नगर्ने प्रस्ट पारेको थियो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ परीक्षा सार्ने विषयमा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेसँग छलफल गरेका थिए। सोही आधारमा बोर्डले वैशाख २१ गतेका लागि परीक्षा सारिएको अध्यक्ष शर्माले बताए ।

यसवर्ष कक्षा १२ को परीक्षामा करिब पाँच लाख विद्यार्थी सहभागी हुनेछन् । परीक्षाका लागि जापान एक परीक्षा केन्द्रसहित एक हजार ५९१ परीक्षा केन्द्र गरिएको छ । परीक्षाका लागि त्यति नै सङ्ख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तथा विद्यार्थी सङ्ख्याको आधारमा करिब दुई हजार कर्मचारी, प्रत्येक परीक्षा केन्द्रमा कम्तीमा एकजना कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी बोर्डले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस् !