काठमाडौँ : काठमाडौं प्रवेशको मुख्य नाका नागढुंगाबाट प्रहरीले स्रोत नखुलेको करिब ४ करोड रुपैयाँ बरामद गरेको छ । चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट मंगलबार प्रहरीले स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७२० रूपैयाँ बरामद गरेको हो ।
नुवाकोटबाट काठमाडौं आउँदै गरेको बीएबी ५७१० नम्बरको कारमा सवार उनीहरुको साथमा स्रोत नखुलेको तीन करोड ८९ लाख १३ हजार सात सय २० रूपैयाँ फेला परेको प्रहरीले जनाएको छ । प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण व्युरोबाट खटिएको संयुक्त टोलीले चेक जाँच गर्ने क्रममा कारको डिक्कीबाट रकम भेटिएको हो ।
नुवाकोटको विदुर नगरपालिका–८ बस्ने ४४ वर्षीय फूलबहादुर गुरुङ कार चालक रहेको बताइएको छ । पक्राउ परेकाहरुलाई बरामद रकमसहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई बुझाइएको छ ।






