गीता पनेरु
केही दिन यता प्रकाश सपूतद्दारा सार्वजनिक गरिएको गीति नाटक “पिर“ ले सार्वजनिक सञ्जाल भरिएको छ । उनको गीतको विरोध र समर्थनमा व्यक्तिगत धारणाहरु छताछुल्ल हुन पुगेका छन् । कतिपय उनका समर्थनमा भक्तिभाव प्रकट गरिरहेका छन् भने कतिपयले विरोधका निकृष्ट स्वरहरु पनि उरालिरहेका छन् । तर यो समाज र देशको मुहारलाई आमूल परिवर्तनको माध्यमबाट बदल्नका लागि निधारमा कात्रो बाधेर हिडेका परिवर्तनकामी, मुक्तिकामी र क्रान्तिकारी तह र तप्काका महिला तथा पुरुष वीरविरङ्गानाहरुलाई भने यो विषयले निकै चिन्तित् तुल्याएको छ र यो पिर नामकगीतले अरु पिर पारेको छ ।
जसको सन्दर्भमा रचनाकार प्रकाश सपूत र हामी सबै यो समाजका जिम्मेवार तप्का तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले गम्भीरतापूर्वक लिन, सच्चिन र सच्याइनँ जरुरी छ, किनभने हरेक व्यक्ति,समाज र उसलै गरेका हरेक कामहरुमा द्दन्दात्मक भैतिकवादी दृष्टिकोण ले हेरिनुपर्छ र सोहि अनुरुप धारणा राख्नुपर्छ न कि पुर्वाग्रही र दुष्मनीपूर्ण । तसर्थ म स्वयम् पनि यो देशमा सामाजिक–साँस्कृतिक, धार्मिक, आर्थिक तथा राजनीतिक परिवर्तनको निम्ति भनेर जनयुद्धमा समाहित् भएको जिउँदै पात्रको हैसियतले यो विषयमा चर्चा गर्न समर्थ छु, र आवश्यक पनि ठानेको छु ।
हुन त सामाजिक सञ्जालमा उठान भएका सबै विषयमा सबैले लेख्नैपर्छ भन्ने त छैन, यद्यपी यो पिरले झन् पीर पार्याे र त्यसलाई उजागर गर्न मन लाग्यो । त्यसैले प्रकाश सपूत जस्ता होनाहर युवा परिवर्तनका पक्षधर कलाकार र उहाँ सम्बद्ध व्यक्तिहरुले आत्मसात गर्नैपर्ने केही विषयवस्तु लाई बँुदागत् रुपमा पेश गर्ने जमर्को गरेको छु । जनयुद्ध केही होईन र यसले केहि पनि गरेको छैन, जनयुद्ध बेकार थियो भन्ने तप्काले पनि यो बुझ्न जरुरी छ ।

१) सबैभन्दा पहिलो कुरा त कमेन्टमा आइसकेको छ, एकात्मक राज्य व्यवस्थाको एकाधिकावादको अन्त्य गर्याे । र जनताका छोराछोरी पनि सत्तामा पुग्न सक्ने व्यवस्था स्थापना गर्याे ।
२) त्यसैले त समानुपातिक सहभागीताको नजिरबाट तपाईं जस्तै दलित,जनजाति, मुस्लिम , मधेसी, उपेक्षित वर्ग र समुदायहरुले राजनीतिक सर्वाेच्चता हासिल गर्न सफल भयो ।
३) सामाजिक – साँस्कृतिक विभेदीकरणलाई जरैबाट उखेल्नु पर्छ भनेर संविधानमै उल्लेख गरियो ।
४) उल्लेख गरेर मात्रै हुदैन, कडाइका साथ परिपालना गर्नुपर्छ, भने स्थानीय स्तरमै न्यायलयको स्थापना गरेर हरेक अधिकारहरुलाई तलतल वार्ड सम्म न्यायिक समितिको माध्यमबाट लागू गरियो ।
५) र सबैभन्दा महत्वपूर्ण कुरा सम्वैधानिक अधिकार २०७२ जारी गरियो,जुन सम्पूर्ण सचेत नागरिक र तपाईं सामाजिक सञ्जाल प्रयोगकर्ता महानुभाहरुले राम्रोसँग अध्ययन गर्न जरुरी छ ।
र अब म अर्को व्यवहारिक विषयमा चर्चा गर्न चाहान्छु, जुन तात्कालिन माओवादी जनयुद्धको सस्कारबारे । जस संग सम्वन्धित रहेर प्रकाश सपूतले कथानक गीत बनाएका छन्, उनले त्यति मेहनेत गरेर बनाएको गीतले समेट्न नसकेको सबल पक्ष, क्रान्तिकारी जनवादी पाटो र हामी जस्ता नैतिकवान् पात्रहरुलाई पारेको पिरबारे पनि बँुदागत् रुपमा पेश गर्न चाहान्छु ।
१) जब हामी मोर्चामा जान्थ्यौ, नेतृत्व कमरेडहरुले सबैभन्दा पहिले क्रान्तिकारी फलामे अनुशासनबारे स्कुलिङ गर्नुहुन्थ्यो ।
२) प्रेम, यौन र विवाहको बारेमा स्कुलिङ गर्नुहुन्थ्यो, मापदण्ड र आंचार संहिता तोकिएको हुन्थ्यो, जसलाई पार्टीको मुलमन्त्र सम्झेर हिडिन्थ्यो ।
३) ३ः१ वा एउटा केटा साथी संग २ जना केटी साथी वा १ जना केटि साथीसंग २ जना केटा साथीको टिम हिड्ने गरिन्थ्यो ।
४) अनुशासन, गोपनियता र सरल जीवन नै क्रान्तिकारीहरुको परिचय हुने गर्दथ्यो ।
५) जनतासंग लिने र जनतालाई नै दिने जस्ता जनवादी व्यवाहार कसैले गरेको छैन भने आलोचना हुन्थ्यो ।
६) जनताको सियो र धागोको टुक्रा सम्म सित्तैमा लिईदैनथ्यो ।
७) जनतको घरमा भात खए पनि मरिमेटेर श्रम गरिन्थ्यो ।
८) संस्कृतिको रक्षा गरौ, विकृतिको भण्डाफोर गरौ, भन्ने नारा लगाईन्थ्यो ।
९) महिलाको सम्मान इज्जत गरिन्थ्यो ।
१०) सबैभन्दा महत्वपूर्ण कुरा त महिलाको समान अधिकारका लागि पैत्रिक सम्पत्ति माथि समान अधिकार, समान कामको समान ज्याला लगाएतका दर्जनौं अधिकारलाई संविधानमै व्यवस्था गरेको छ ।
११) स्थानीय निकायमा अनिवार्य महिला र अहिले त झन् महिला पहिला जस्ता महिला मैत्री व्यवस्थालाई कलाको गलाको माध्यमबाट कहिले र कसले ल्याउने, के त्यो चै उजागर गर्नुपर्दैन ?
१२) महिला मुक्ति अधिकारका निम्ति, श्रमसिप र आत्मनिर्भरताका निम्ति जो सबैभन्दा धेरै लड्यो, सघर्ष गर्याे तिनै पंक्तिको मन दुःखाउनु कत्तिको न्याोचित छ ? त्यसैले विषयवस्तु गम्भीरतापूर्वक उठेका छन्, र यो स्वभाविक पनि छ ।
यी त केवल प्रतिनिधि मुलक उदाहरणीय बँुदाहरु मात्रै हुन् । मैले यहाँ मात्रै के चर्चा गर्न खोजेको हो भन त्यत्रो महान् उपलब्धिलाई एउटै मात्रै विषयमा केन्द्रित् गरेर त्यो पनि नकारात्मक बिन्दुमा लगेर टुङ्ग्याउनु ले सामाजिक – साँस्कृतिक र महिला अस्मिताका विषयहरु मात्रै नभएर अरु रणनीतिक र राष्ट्रिय महत्वका राजनीतिक उपलब्धिलाई समेत् ठेस पुग्ने पिरलो जन्म भयो । यस तर्फ सम्पूर्ण कलाकार, साहित्यकार र सबै तह र तप्काको ध्यानाकर्षण हुन जरुरी छ । किनभने कलाकार भनेका देशका गहना हुन्, कला, साहित्य र अभिनयको माध्यमबाट केवल जनतालाई मनोरञ्जन मात्रै दिने होइन, राजनीतिक सामाजिक चेतना,ज नजागरण र मार्गनिर्देश समेत गर्न जरुरत पर्छ, त्यसैले प्रकाश सपुतको यो गीतमा उनका स्वर, धुन, अभिनय र भावनात्मक पक्ष सकारात्मक भएता पनि वैचारिक र सबल पक्ष वा वर्तमान् परिवर्तित समाजलाई दिने सन्देश भने निकै कमजोर देखियो, उहाँले आगामी दिहरुमा आफुलाई सच्याएर नेपाली जनताको सामु उभ्यानुपर्ने चुनौती खडा भएको छ, उहाँको पिरले दर्शक, श्रोता र सम्पूर्ण नेपाली जनतालाई पिर नपारियोस् ।






