काठमाडौँ : एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु २१ अर्ब ७९ करोड २५ लाख ८६ हजार राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको तुलनामा १० दशमलव ८० प्रतिशतले कमी हो । चालु आर्थिक वर्षको पहिलो छ महिनामा कार्यालयले रु २४ अर्ब ४३ करोड ३२ लाख ९९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयले सो अवधिमा गत आर्थिक वर्षभन्दा रु तीन अर्ब ७५ करोड ९९ लाख ७३ हजार बढी राजस्व सङ्कलन भएको कार्यालयका प्रवक्ता रामचन्द्र ढुङ्गानाले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षको पहिलो ६ महिनामा कार्यालयले रु २३ अर्ब छ करोड ८३ लाख ६६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा सो अवधिमा रु १८ अर्ब तीन करोड २६ लाख २१ हजार राजस्व सङ्कलन गरेको जनाएको छ ।

चालु आर्थिक वर्षको पहिलो छ महिनामा सङ्कलित राजस्वमा भन्सार महसुल आयाततर्फ रु सात अर्ब ९६ करोड ७१ लाख ३२ हजार, मूल्य अभिवृद्धिकरतर्फ रु १० अर्ब ९४ करोड २७ लाख १७ हजार, अन्तःशुल्कतर्फ रु एक अर्ब ४८ करोड ५३ लाख १२ हजार, स्वास्थ्य जोखिम करतर्फ रु तीन हजार, भन्सार महसुल निर्याततर्फ रु ८४ लाख ३८ हजार, कृषि सुधार शुल्कतर्फ रु ४८ करोड ८५ लाख ३३ हजार, भन्सारसम्बन्धी अन्य आयतर्फ रु दुई करोड ४७ लाख ७० हजार, सडक मर्मत तथा सुधार दस्तुरतर्फ रु नौ करोड ३२ लाख, सडक निर्माण तथा सम्भार दस्तुरतर्फ रु ३२ करोड आठ लाख ४४ हजार, पूर्वाधार करतर्फ रु २३ करोड ३० लाख र अन्य रु २२ करोड ८६ लाख ३६ हजार छन् ।

छ महिनामा १० अर्ब राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालयले लक्ष्य भन्दा दुई प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालू आर्थिक वर्षको पहिलो छ महिनामा रु ९ अर्ब ८४ करोड ८३ लाख ६७ हजार राजस्व सङ्कलन गरेको हो ।
विभागले तोकेको रु नौ अर्ब ६५ करोड ५५ लाख १२ हजार लक्ष्यमा कार्यालयले रु १९ करोड २८ लाख ५५ हजार बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयका सूचना अधिकारी हरि ढकालका अनुसार अन्तःशुल्कमा रु सात अर्ब ४८ करोड ६२ लाख ७५ हजार, मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब आठ करोड छ लाख ५० हजार, आयकरतर्फ रु ९० करोड चार लाख ६२ हजार राजस्व सङ्कलन भएको छ ।

यस्तै ब्याज करमा रु १५ करोड नौ लाख २६ हजार, वहाल करतर्फ रु तीन करोड २८ लाख पाँच हजार, स्वास्थ्य सेवा करतर्फ रु १९ लाख तीन हजार र शिक्षा सेवा शुल्कमा रु २४ लाख ९१ हजार सङ्कलन भएको छ ।
ढकालका अनुसार विभागले चालू आर्थिक वर्षमा रु २१ अर्ब ७२ करोड २१ लाख ७९ हजार राजस्व सङ््कलनको लक्ष्य तोकेको थियो ।अघिल्लो आर्थिक वर्षको पुससम्म कार्यालयले रु सात अर्ब ५१ करोड १६ लाख १९ हजार राजस्व सङ्कलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस् !