काठमाडौँ : पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पृथ्वी जयन्तीको अवसरमा सर्वसाधारणका साथै राजावादी संघ संस्थाहरुले आज सिंहदरबार पश्चिम मूलद्वारमा अवस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणको कार्यक्रम राखेका छन् ।
विक्रम सम्बत १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए । तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भनी दूरदृष्टि व्यक्तिका रुपमा उनको सर्वत्र प्रशंसा हुँदै आएको छ ।
पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा घोषणा गर्न र विदा दिन माग हुँदै आएको छ । तर सरकारीस्तरमा भने बिदाको घोषणा गरिएको छैन । यद्दपी संघीय सरकारले निर्णय नगरे पनि गोरखा, नुवाकोटको विदुर, स्याङ्जाको वालिङलगायत नगरपालिकाले भने पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।






