– अमृत ओस्ती –
२०६८ सालमा राजधानीमा केहि युवाहरु ‘नेपाल खुल्ला’ छ अंकित प्लेकार्ड लिएर सडक पेटीमा उभिएको देख्नेहरुलाई यिनीहरु कुनै एनजिओका सदस्यहरु होलान् भन्ने लाग्थ्यो । २०७२ सालको भुकम्प जाँदा युवाहरु संगठित रुपमा नै पिडितहरुको उद्धारमा लागेपछि बल्ल उनीहरुको बारेमा चासो भयो र उनीहरु विवेकशील नामक राजनैतिक दलका सदस्यहरु भएको समाचारहरु बाहिर आए । उज्वल थापा यहि विवेकशील दलका संस्थापक अध्यक्ष थिए । सन् २०१३ को दोस्रो संविधानसभाको चुनावमा कुकुर चुनाव चिन्ह लिएर उठेका उनै उज्वल थापाले ३ हजार युवाहरुको भोट पाएपछि विवेकशील दलले नेपाली राजनैतिक आकासमा आफ्नो उपस्थिति देखायो ।
आगोको झिल्का सानो हुन्छ । सानै झिल्काले पनि ठूला साम्राज्य जलाउन सक्छ । हजुरबुबा पुस्ताले युवा राजनीति गरिरहेको नेपालमा शिक्षित युवाहरुलाई राजनीति भनेको फोहोरी खेल हो यसबाट टाढै रहन पर्छ भन्ने भावले ग्रस्त पारेको छ । क्याम्पस स्तरको पढाई कमजोर हुने, हो हल्ला गर्ने, अराजक, असभ्य युवाहरुको राजनीतिमा प्रवेश पाइरहेको अवस्थामा उनै उज्वल थापाले सचेत, शिक्षित युवाहरु राजनीतिको फोरोरमा हामफालेर यो फोहोरलाई सफा गर्न पर्छ भन्ने उत्प्रेरणा जगाईरहेका थिए ।
आफ्नो जीवनभर राजनीति गर्नको लागि राजनैतिक दलको अध्यक्ष भइरहन पर्छ भन्ने नेपाली राजनैतिक संस्कारलाई परिवर्तन गर्न उनले आफैले स्थापना गरेको दलको अध्यक्षमा प्रतिस्पर्धा नगरि नेतृत्व हस्तान्तरण गरे । राजनीति भनेको पेशा होइन, समाजसेवा हो । राजनैतिक दल र उनको नेतृत्व सधै पारदर्शी हुन पर्छ भन्ने भावना अनुसारको राजनैतिक दलको परिकल्पनाकार थिए उज्वल थापा । उनको नेतृत्वमा रहेको दलको केहि हद सम्म पारदर्शिता देखाईरहेकै छ ।
विवेकशील दल नेपालको राजनीतिमा आउदै गर्दा यसकै पदचाप पछ्याउदै धेरै दलहरु जन्मिए । पुर्व प्रम डा. बाबुराम भट्टराईले त नयाँ शक्ति भन्दै गैहृ राजनैतिक ब्यक्तिहरुलाई लिएर पार्टी नै गठन गरे भलै हाल उहाँ मधेशकेन्द्रित दल संग आवद्ध हुन पुग्नु भएको छ । लामो समय पत्रकारीता गरेर छुट्टै पहिचान बनाईसक्नुभएका रविन्द्र मिश्रले पनि उहाँकै पाइलालाई पछ्याउदै साझा पार्टी नामक राजनैतिक दल गठन गर्नुु भयो । एक पटक विवेकशील दल र साझा पार्टी मिलेर, फूटेर फेरी मिलेर विवेकशील साझा पार्टी बनेको छ । हालको अवस्था हेर्दा नेपालमा बैकल्पिक राजनैतिक धारको नेतृत्व विवेकशील साझा पार्टीले गरेको छ, यसको श्रेय उज्वल थापालाई जान्छ ।
मृत्यु पश्चात मान्छेलाई देवत्वकरण गर्ने नेपाली समाजको पुरानै रोग हो । उनका पनि केहि कमजोरी थिए होलान् । केहि समय अगाडि उनलाई आर्थिक अपचलनको आरोप लागेको थियो भलै त्यो आरोप प्रमाणित भएन । उनकै कालमा साझा पार्टीसंगको पार्टी एकता, पार्टी विभाजन र फेरी पार्टी एकता हुँदाका अपजसहरु पनि उनको भागमा पक्कै परेका छन् ।
उज्वल थापाको मृत्युमा शोक बक्तब्य दिनेलाईनमा सर्वसाधारण देखि राजनैतिक दल हुदै प्रधानमन्त्री समेत सामेल भएका छन् । अघिल्लो चुनावमा विवेकशील दलले बागमती प्रदेशमा दुई समानुपातिक सिट बाहेक अन्त कतै पनि जित हासिल गर्न सकेन । पचासौं वर्ष पुरानो राजनैतिक दल, तिनको संगठन, कार्यकर्तामुखी राजनैतिक प्रणाली रहेको समाजमा नयाँ राजनैतिक दल स्थापना हुनु अत्यन्त चुनौतिपूणर् छ । यसमा पनि ४० तलका युवालाई आलाकाँचा मान्ने नेपाली समाजकै सोच हो । यस्तो चुनौतिपूणर् सामाजिक अवस्थाका बाबजुद यो दलले देशभर विकल्प दिन सकेकोमा भने सफलता मान्नै पर्दछ ।
उज्वल थापा अब भौतिकरुपमा हामीमाझ छैनन् । तर उनको यो देश, राजनैतिक चेतना र राजनैतिक पार्टीको शुद्धिकरण गर्ने सपना अधुरै छन् । अभिभावकहरुले आफ्ना सन्तानलाई राजनीति गर्न उत्प्रेरीत गर्ने समय नआए सम्म पक्कै उज्वल थापाको सपना पुरा हुने छैन । देश बदल्न राजनीतिमा शिक्षित युवाहरु आउनै पर्दछ । डाक्टर, ईन्जिनियर, पाईलट जस्तै राजनीतिज्ञ बन्ने युवाहरुको चाहाना जागृत गराउन सके उनको सपना एक दिन पक्कै पुरा हुनेछ ।
बन्दुकको बलमा सत्ता कब्जा गर्छु भन्ने प्रचण्ड हुन् या हरेक आन्दोलनमा सडकका रेलिङ्ग भत्काउने माधव कुमार नेपाल हुन् उनीहरुले समेत ‘हामी यहाँ र्छौं को प्लेकार्ड लिएर माइतिघर मण्डलामा बस्दा उनले थालनी गरेको आन्दोलनको स्वरुपले नेपाली आन्दोलनमा ठाउँ पाइसकेको छ । भोलिको दिनमा यो झनै परिस्कृत हुनेछ ।
उमेरले मात्र राजनैतिक नेतृत्व सहि नै हुन्छ भन्न सकिदैन । उत्तर कोरियाका राष्ट्रपति किमजोगं युवा नै छन् । त्यसलाई सहि नेतृत्व मान्न सकिदैन । अमेरिकाका ७८ वर्षीय राष्ट्रपति बाईडेन हुन् या फिनल्याण्डकी ३५ वर्षीय प्रधानमन्त्री मरिन, दुवैले देशलाई कुशलतापूर्वक हाँकेकै छन् । नेपालमा पनि उमेरकै कारणले राजनैतिक नेतृत्वले देश कुशलतापूर्वक हाँक्न नसकेका पक्कै होईन, राजनैतिक संस्कारका कारणले यस्तो भएको हो । तथापि राजनैतिक मोर्चामा शिक्षित युवा नआएसम्म भने देश परिवर्तन हुनै सक्दैन ।
उज्वल थापाको मृत्युपछि फेरी देशमा बैकल्पिक राजनैतिक धारको बारेमा जबरजस्त बहस चलेको छ । उनी हस्पिटलमा भर्ना हुदै गर्दा आम देश विदेशमा रहेको नेपालीले दर्शाएको माया, सहयोग कुनै मुलधारका राजनैतिक नेतृत्वको भन्दा कम थिएन । स्वस्फूर्त रुपमा आएको उपचार सहयोगले सरकारी ढुकुटीबाट देशमा/विदेशमा उपचार गर्नेहरुलाई पक्कै गिज्ज्याईरहेको थियो ।
राजनैतिक दल, विचार, सिद्धान्त फरक भएर पनि उनको पक्षमा जनमानस देखिनु संयोग होइन, उनले जीवनकालमा गरेको कर्मको फल हो । यसले पनि नेपालको राजनैतिक वातावरणमा बैकल्पिक धारको संभावनालाई झनै उचाईमा पुर्याएको छ । पक्कै एकदिन नेपालले सच्चा र सक्षम राजनैतिक नेतृत्व पाउने छ, त्यो दिन उज्वल थापाको जस्तै करोडौं नेपालीको सपना पुरा हुनेछ, र उज्वल थापाको आत्माले शान्ति पाउने छ ।
(लेखकका नीजि विचार)






