राजु सिलवाल
काठमाडौँ : फिफा विश्वकप फुटबल प्रतियोगिता नकआउट चरणमा प्रवेश गरेपछि हालसम्म देखिएको नतिजाले कुनै पनि टिम सुरक्षित नरहेको स्पष्ट सङ्केत देखिएको छ । समूह चरणको खेलहरुको समाप्तिसँगै सुरु भएको नकआउट प्रतिस्पर्धामा देखिएको नतिजाले जुनसुकै सहभागी टिम पनि प्रतियोगिताबाट बाहिरिन सक्ने अवस्था देखिएको छ ।
विगतको विश्वकपका इतिहासलाई ओझेलमा पार्दै नयाँ इतिहास कोर्ने होडमा सहभागी टिमहरु रहेका छन् । यसपटक अनुमान नगरिएका नतिजाहरु पनि देखिएका छन् । विश्वकपको दाबी गर्दै प्रतियोगितामा भिडेका प्रतिस्पर्धी टिमहरुले समेत क्वाटरफाइनलसम्म पनि नपुग्दै घर फर्कनुपरेको स्थितिको सामना गर्नुपरेको छ ।
युरोपका दुईवटा शक्तिशाली टिम जर्मनी र नेदरल्याण्डस् एकैदिन पेनाल्टी सुट आउटबाट पराजित भएको घटनालाई विश्वकपको इतिहासमा सामान्य मान्न सकिँदैन । दर्शकहरुले आफ्ना प्रिय टिमलाई गुमाउनुपरेको क्षण पनि पिडादायी रहेको छ । साना राष्ट्रको प्रतिनिधित्व गर्दै विश्वकपको मैदानमा उत्रिएका केही टिमले विशिष्ठ पहिचान बनाइसकेका टिमलाई दिएको चुनौतीलाई पनि कम आँक्न सकिँदैन । समूह चरणबाट विजयी भएर अघिल्लो चरणमा पुगेका बत्तीस टिमहरुको पहिलो नकआउट चरणमा तीव्र प्रतिस्पर्धा भएकाले दाबेदार टिमहरुले आफ्नो पहिलो रोजाइका खेलाडीहरुलाई मैदानमा उतारेको देखियो । खेलको गति पनि छिटो तथा बढी आक्रामक भएकाले दर्शकहरुले पनि खेलाडीहरुको खेलकौशलबाट रोमान्चित हुने अवसर पाइरहेका छन् ।
विशेषगरी बरोबर पेनाल्टी सुटआउट तथा कल्पना पनि गर्न नसकिने खालका आकर्षक गोलहरु राउण्ड अफ बत्तीस चरणका विशेषता बनेका छन् । रेफ्रीले विभिन्न खेलका दौरान गरेका निर्णय समेत भिडियो एसिष्टेण्ट रेफ्रीले उल्टाएर नतिजालाई समेत प्रभावित गरेको प्रसङ्ग पनि उल्लेखनीय मानिएका छन् ।
अकल्पनीय पराजय
विगतका वर्षहरुमा जस्तै यसपालि पनि विश्वकपको दाबी गर्दै आएको जर्मनी टिमले छिट्टै घर फर्कनुपर्ने स्थिति आउला भनेर कल्पना समेत गरेको थिएन । जितेर विजय उत्सब मनाउने लक्ष्य राखेको जर्मन खेलाडीहरुले पराजित भएपछि आफ्नै घरमा समेत विरोधको सामना गर्नु प¥यो । चारपटक विश्वकप जितिसकेको जर्मनी गत विश्वकपमा जस्तै यसपटक पनि पहिलो नकआउट चरणमै असफल हुनु दुर्भाग्य ठानिएको छ । विश्वका सफल पुरुष फुटबल टिममध्ये एक मानिएको जर्मनीले विश्वकपमा चार चार पटक दोस्रो र तेस्रो स्थान पनि प्राप्त गरेको इतिहास छ । पराग्वे र जर्मनीबीच एक–एक गोल भई खेल बराबरीको स्थितिमा भएपछि गराइएको पेनाल्टी प्रहारमा पराग्वे तीन गोलका विरुद्ध चार गोलले विजयी हुन पुग्यो ।
जर्मनीले विश्वकपका खेलहरुमा आजसम्म पेनाल्टी सुटआउटबाट पराजित हुनु परेको थिएन । जर्मनी पराजित हुनुमा पहिलो गोल पराग्वेका तर्फबाट प्रहार हुनु, शसक्त आक्रमण निरन्तर गर्न नसक्नु तथा गरिसकेको गोल पनि भिडियो एसिष्टेण्ट रेफ्रीको निर्णयले गुम्नुजस्ता मुख्य कारण मान्न सकिन्छ । खेलको निर्धारित समय बराबरमा टुङ्गिएपछि थपिएको अतिरिक्त समयमा जर्मनीका लागि जोनाथनले हेडद्वारा गरेको गोल रेफ्रीले दिन अस्वीकार गरिएपछि जर्मनीले पेनाल्टी सुटआउटको सामना गर्नुपरेको थियो । वाल्डेमार एन्टोनले पराग्वेको गोलकिपर ओर्लाण्डोगिललाई फल गरेको जनाउँदै गोल दिइएन । अर्को युरोपेली टिम नेदरल्याण्डस् पनि पेनाल्टी सुटआउटमै हार्न पुग्यो । मोरक्को र नेदरल्याण्डबीच एक–एक गोल भई खेल बराबरीको स्थितिमा भएपछि गराइएको पेनाल्टी प्रहारमा मोरक्को दुई गोलका विरुद्ध तीन गोलको अन्तरले बिजयी हुन पुगेको थियो ।
टिमको पराजयपछि नेदरल्याण्डसका प्रशिक्षक रोनाल्ड कोम्यानले तत्काल राजिनामा दिएर पराजयको जिम्मेवारी लिनु परेको थियो । बेल्जियमसँगको खेलमा दुई गोल प्रहार गर्नु सफल भइसकेको सेनेगलले आफ्नो अग्रता जोगाउन नसक्दा हार ब्यहोर्नुप¥यो । बेल्जियमले अतिरिक्त समयमा देखाएको चमत्कारले सेनेगललाई दुई गोलका विरुद्ध तीन गोलको अन्तरले हराएको थियो । पहिलो नकआउट चरणमा क्यानडाले दक्षिण अफ्रिकालाई शून्यका विरुद्ध एक गोलले हराएर अर्को चरण प्रवेशको ढोका खोल्यो ।
ब्राजिलले एसियाली टिम जापानलाई एक गोलका विरुद्ध दुई गोलले हराएको थियो । नर्वेले आइभरी कोष्टलाई एक गोलका विरुद्ध दुई गोलले तथा फ्रान्सले स्वीडेनलाई शून्यका विरुद्ध तीन गोलले पराजित गर्दै अर्को यात्राको बाटो तय गरेको छ । मेक्सिकोले पनि इक्वेडरलाई शून्यका विरुद्ध दुई गोलले हराएर राउण्ड अफ बत्तीस पार गरेको छ ।
प्रतियोगिताको सहआयोजक क्यानडाले कठिन परिस्थितिका बाबजुद दक्षिण अफ्रिकालाई शून्यका विरुद्ध एक गोलले हराएर अर्को चरणका लागि स्थान निश्चित गरिसकेको छ । मेक्सिकोले इक्वेडरलाई शून्यका विरुद्ध दई गोलले हराएको थियो । अमेरिकाले दश जना खेलाडीहरुमा सिमित रहेको स्थितिमा पनि बोस्निया हर्जगोभिनालाई शून्यका विरुद्ध दुई गोलले पराजित गर्दै आगामी यात्रा सुनिश्चित गर्न सफल भयो । स्पेन पनि सशक्त रुपमा प्रस्तुत हुँदै अष्ट्रियालाई शून्यका विरुद्ध तिन गोलले सजिलैसँग हराउन सफल भयो । यसमा मिकेल ओयारबालले महत्वपूर्ण दुई गोल गरेका थिए भने पेड्रो पोरोले एक गोल थपेका थिए । पोर्चुगलले क्रोयसियालाई एक गोलका विरुद्ध दुई गोलले हराएर आगामी यात्रा सुनिश्चित गरेको छ । एक गोलले पछि परिसकेको पोर्चुगलले क्रिष्टियानो रोनाल्डोको पेनाल्टी गोल तथा र गोलकालो रामोसको खेल समाप्तिको चरणमा रहेको अवस्थाको गोलको मद्दतले जित हासिल गरेको थियो ।
केही उत्कृष्ट गोलहरु
नकआउट चरणमामा विश्वास गर्न नसकिने खालका कयौं गोलहरु भएका छन् । यसमध्ये पाराग्वेका जुलियो एन्सिसोले जर्मनीविरुद्ध हेड गरेर गरेको गोल उत्कृष्ठ मानिएको छ । नर्वेका एण्टोनियो नुसाले आइभोरी कोष्टका रक्षापङ्तिका खेलाडीहरुलाई छक्याउँदै टाढाको दूरीबाटै गोल गर्न सफलता प्राप्त गरेका थिए । यो गोल यसपालिको प्रतियोगिताकै हालसम्मकै उत्कृष्ट गोलमा पर्दथ्यो । सेनेगलका इस्माइला सारले बेल्जियमविरुद्ध गरेको गोल पनि प्रशंसनीय थियो । नर्वेका एन्टोनियो नुसाले घुमाउरो प्रहार गर्दै गरेको अनपेक्षित गोलले आइभोरी कोष्ट टिमलाई स्तब्ध बनाएको थियो । फ्रान्सका स्ट्राईकर एम्बाप्पेले स्विडेनविरुद्ध गरेको दुई गोल पनि निक्कै चर्चित हुन पुग्यो । इङ्गल्याण्डलाई कङ्गोले कडा चुनौती दिएर एक गोलले पछाडि पारिरहेको अवस्थामा कप्तान ह्यारी केनले लगातार गरेको दुईवटा आकर्षक गोलले इङ्गल्याण्डका समर्थकहरुलाई निरास हुनबाट जोगायो ।
फुटबलमा भिडियो हाबी
शुक्रबार पोर्चुगल र क्रोयसियाबीच भएको खेलको अन्तिम समयमा क्रोयसियाको तर्फबाट भएको गोल भिडियो एसिष्टेण्ट रेफ्रीले अफसाइड जनाएपछि क्रोयसियाले पराजय भोग्नुपरेको थियो । बिगतका दुई विश्वकपदेखि लागू गरिएको भिडियो एसिष्टेण्ट रेफ्रीको व्यवस्थाले यसपालि खेलको नतिजालाई नै प्रभावित गरिरहेको देखिएको छ । खेलमा गोल भएको वा नभएको, फाउल, ह्याण्ड अथवा अफसाइडको अवस्थामा भिडियो एसिष्टेण्ट रेफ्रीले हस्तक्षेप गर्नसक्ने नियम रहेको छ । तर अन्तिम निर्णय गर्ने अधिकार मैदानमा कार्यरत रेफ्रीकै हुने गरेको छ । पेनाल्टी गराउने वा नगराउने, रातो कार्ड देखाएर खेलाडीलाई निष्काशित गर्नसक्ने अवस्थासम्म भिडियो एसिष्टेण्ट रेफ्रीले समीक्षा गर्न सक्दछ ।
जर्मनीले पाराग्वेविरुद्ध गरिसकेको गोल पनि भिडियो एसिष्टेण्ट रेफ्रीको निर्णयको कारण गुम्न पुगेको थियो । खेलको निर्धारित समय बराबरमा टुङ्गिएपछि थपिएको अतिरिक्त समयमा जर्मनीका लागि जोनाथनले हेडद्वारा गरेको गोल रेफ्रीले दिन अस्वीकार गरिएपछि जर्मनीले पेनाल्टी सुट आउटको सामना गर्नुपरेको थियो । वाल्डेमार एन्टोनले पराग्वेको गोलकिपर ओर्लाण्डोगिललाई फल गरेको जनाउँदै गोल दिइएको थिएन । अमेरिका र बोस्निया हर्जगोभिनाबीचको खेलमा अमेरिकी फरवार्ड फोलारिन बालोगनलाई रातो कार्ड देखाई मैदानबाट निकालिएको कारणनै भिडियो एसिष्टेण्ट रेफ्रीको निर्णय थियो । उनलाई रेफ्रीले पहिले देखाएको पहेंलो कार्डको पुन समीक्षा गरिएपछि रातो कार्ड देखाइएको थियो । मेक्सिकोसँग भएको खेलमा भिडियो एसिष्टेण्ट रेफ्रीको समीक्षापछि इक्वेडर टिम १० खेलाडीमा सीमित भएको थियो । इक्वेडरका रक्षा पङ्तिका खेलाडी पिइरो हिनकेपीलाई रातो कार्ड देखाएर निष्काशित गरेपछि इक्वेडर पराजयको बाटोमा पुगेको थियो ।
खेलले जन्माएको द्वन्द्व
विश्वकपको प्रतिस्पर्धाबाट बाहिरिएका विभिन्न मुलुकका सहरहरुमा समर्थकहरुले पराजित टिमको विरोध भएका छन् । जर्मन फुटबल टिमले तीब्र बिरोधको सामना गर्नु परेता पनि जर्मनीमा भने ठूला हिंसात्मक घटना घटेनन् तर युरोपका विभिन्न सहरमा झडपका घटना घटेका छन् । मोरक्कोसँग पेनाल्टी सुटआउटमा नेदरल्याण्डस् पराजित भएपछि हेग, रोटरडमजस्ता सहरमा हिंसात्मक झडप भएका थिए । समूह चरणबाट बाहिरिएपछि स्वदेश फर्केको दक्षिण कोरिया टिमको पनि विरोध गरिएको थियो । यसैक्रममा नाराबाजी समेत गरिएको थियो । प्रतियोगिता स्थल अमेरिकामा पनि खेलका क्रममा केही हिंसात्मक घटना घटन पुगे ।
उदाहरणीय टिम
जापानले विश्वकप पाँच पटक जितिसकेको ब्राजिल जस्तो प्रमुख टिमलाई कडा चुनौती दिँदादिँदै पनि विश्वकपको यात्रा टुङ्ग्यायतापछि यसपालिको विश्वकपमा सम्झिरहने टिमका रुपमा आफूलाई स्थापित गर्न सफल भएको छ । जापानले खेलेका खेलहरु समाप्त भएपछि रङ्गशालाका प्याराफिटमा भएका फोहर सफा गरेर जापानी युवायुवतीले उदाहरणीय कार्य गरेका थिए । विश्वकपजस्तो प्रतिष्ठित प्रतियोगिताबाट बाहिरिनु भनेको त्यति सहज परिस्थिति होइन । यस्तो अवस्थामा विपक्षी टिमसँग आक्रामक हुनु, रेफ्री वा अन्य अफिसियलप्रति नकारात्मक व्यवहार देखाउनु वा रिस प्रकट गर्नेजस्ता कार्य बेलाबखत फुटबलमा देखिनु सामान्य हो ।
जापान नकआउट चरणमा प्रवेश गरेसँगै ब्राजिलसँग पराजित हुनु परे पनि जापानी प्रशिक्षक, खेलाडी तथा जापानी दर्शकहरुले प्रदर्शन गरेको विनम्रता भने साँच्चिकै सम्झनलायक थियो । जापानी प्रशिक्षक हाजिमे मोरियासुले उच्च खेल संस्कारको प्रदर्शन गर्दै रङ्गशालामा उपस्थित सबैप्रति कृतज्ञता व्यक्त गरेका थिए । जापानी टिमका खेलाडीहरु रोइरहेको अवस्थामा पनि शरीर झुकाएर आभार व्यक्त गरिरहेका थिए । प्रतियोगिता सम्पन्न भएको रङ्गशालामा खेल हेर्न उपस्थित भएका जापानी दर्शकहरुले पनि रोएरै सहज रुपमा पराजयलाई स्वीकारेको दृष्यले धेरैको आँखा रसाएको थियो ।
विश्वकप फुटबलको राउण्ड अफ बत्तीसको समापन सँगसँगै अब अझ कठिन मोडअर्थात् उत्कृष्ट १६ मा प्रवेश गर्दैछ । केही दाबेदार टिम बाहिरिनु तथा अनुमान नगरिएका टिमले विगतमा इतिहास बनाएका टिमहरुलाई दिएको सानदार चुनौतीले फुटबलप्रेमीहरुलाई चकित बनाइदिएको छ । अबका खेलहरु अझ प्रतिस्पर्धात्मक तथा रोचक हँुदै जाने आकलन गरिएको छ । विश्वकपका खेलहरु टिमहरुबीचको आपसी भीडन्तमा मात्र सीमित रही नयाँ इतिहास बनाउने महत्वपूर्ण अवसर भएकाले आगामी खेलहरुका प्रत्येक पल निर्णायक हुने अपेक्षा गरिएको छ ।






