काठमाडौँ । विपक्षी दलका सांसदहरूले संसद् बैठक अवरुद्ध गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को राजीनामा माग गर्दै सांसदहरूले संसद् बैठक अवरुद्ध गरेका हुन् । प्रधानमन्त्री शाह सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उपस्थित नभएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बालेनको राजीनामा माग गरेका छन् । योसँगै सबै विपक्षी दलका सांसदहरू उठेर विरोध गरेका हुन् ।

विपक्षी दलका सांसदहरुले लगातार विरोध जनाएपछि प्रमुख विपक्षी दलका तर्फबाट नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीलाई बोल्न समय दिनुभयो । सांसद केसीले प्रधानमन्त्रीको उपस्थिति जरुरी भएको दोहोर्याउनुभयो । उहाँले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थिति अनिवार्य रहेको, सांसदहरुको धारणा सुन्नुपर्ने र जवाफ दिनुपर्नेमा जोड दिनुभयो । सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने बेलामा नआए पनि सांसद ज्ञानेन्द्र शाहीले नीति तथा कार्यक्रम जनतासँग गरिएको प्रतिबद्धताको दस्तावेज भएकाले छलफलमा प्रधानमन्त्रीको उपस्थिति जरुरी भएको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद ऐनबहादुर महरले कार्यसूचीमा प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गर्ने विषय उल्लेख भएको बताउँदै उहाँको सदनमा उपस्थिति आवश्यक छ भन्नुभयो । सोही दलका सांसद गुरु बरालले प्रधानमन्त्रीको सदनमा उपस्थिति आवश्यक भएकामा जोड दिनुभयो ।
नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले सङ्घीय संसद्मा प्रधानमन्त्रीको उपस्थिति जरुरी भएको र आफूहरुले उहाँको धारणा सुन्न पाउनुपर्ने बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीको अनुपस्थितिमा उहाँका तर्फबाट मन्त्रीले छलफल सुरु गरियोस् भन्ने प्रस्ताव पेस गर्नसक्ने व्यवस्था संसद्को नियमावलीमा रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस् !