डुम्रे (तनहुँ) : राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मभूमि तनहुँको चुँदी रम्घालाई नेपाली भाषा र साहित्यको अन्तरराष्ट्रिय केन्द्र बनाउने उद्देश्यका साथ ‘भानु साहित्य उद्यान’ निर्माण सुरु गरिएको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा उद्यान निर्माण सुरु गरिएको हो । भानु नगरपालिका–४ चुँदीरम्घामा निर्माण हुने उद्यान राष्ट्रपति पौडेलको विशेष परिकल्पना र पहलमा अगाडि बढेको हो । यो योजनाले नेपाली भाषीको भावनात्मक एकता र साहित्यिक पर्यटनलाई जोड्ने विश्वास लिइएको भानु नगरपालिका प्रमुख आनन्दाराज त्रिपाठीले बताउनुभयो ।
“अघिल्लो पटक केही प्राविधिक अवरोध देखिए पनि यसपटक हामीले सम्पूर्ण तयारी पूरा गरेका छौँ”, उहाँले भन्नुभयो ।
नगर उपप्रमुख उमा गोतामेले सरकारले विनियोजन गरेको शहरी विकास मन्त्रालयले २० करोड रुपैयाँ बजेटबाट पहिलो चरणको निर्माण हुने बताउनुभयो । गुरुयोजना अनुसार उद्यानभित्र पहिलो चरणमा आधुनिक ‘भानु भवन’ निर्माण हुनेछ भने क्रमैसँग सातै प्रदेशका प्रमुख साहित्यिक तथा धार्मिक एवं सांस्कृतिक सम्पदाका नमूना र नेपाली साहित्यका मूर्धन्य व्यक्तित्वको सालिक स्थापना गरिने योजना छ ।
नेपाली भाषालाई एकीकरण गर्ने श्रेय पाउनुभएका आचार्यको नेपाली साहित्यमा अतुलनीय योगदान छ । रामायणलाई सरल नेपाली भाषामा लेखेर उहाँले घर–घरमा पु-याउनुभएको थियो । जसले छरिएर रहेका नेपालीलाई भाषिक सूत्रमा बाँध्ने काम ग-यो । उहाँको यही साहित्यिक योगदान र राष्ट्रिय एकताको जगलाई जीवन्त राख्न निर्माण गर्न लागिएको यस उद्यानले भावी पुस्ताका लागि अनुसन्धान र प्रेरणाको केन्द्रका रूपमा काम गर्ने अपेक्षा गरिएको छ ।






