प्यारा विद्यार्थी भाइ बहिनीहरुमा धेरै सम्झना
म आजको मिति सम्म त सन्चो आरामै छु आशा छ विद्यार्थी भाइ,बहिनीहरु पनि आरामै हुनुहोला भन्ने । शारीरीक रुपमा आराम भएता पनि शिक्षक, विद्यार्थी, आदरणीय अभिभावक, स्थानीय निकायका पदाधिकारी ज्युहरु , तथा समाजसेवी लगायत सम्पूर्ण बुद्धिजीवी सचेत नागरिकहरु मानसिक रुपबाट त्यति सञ्चो छैनौ किन कि निर्धारित समयमा नयाँ शैक्षिक सत्रको पठनपाठन सञ्चालन हुन नसकेकोले हामी चिन्तित छौ ।
सर्वप्रथम त शैक्षिकसत्र २०८१ को परीक्षामा सफल हुनु भएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरुलाई हार्दिक बधाई छ । साथै केही विद्यार्थीहरु ग्रेडबृद्दि परीक्षा दिन पर्ने अबस्थामा हुनुहुन्छ राम्रोसँग अध्ययन गर्नुहोला समस्या परेको कुरा टिप्पणी गरेर जानकार दाइ दिदीहरुसंग वा बिषय शिक्षकलाई फोन गरेर भने पनि सोधपुछ गरी सिक्दै पुरक परीक्षाको तयारी गरी सफल हुनुहोला भन्ने अग्रिम शुभ कामना दिन चाहन्छु ।
विद्यार्थी भाइ, बहिनीहरुलाई शिक्षक आन्दोलन किन ? केका लागि ? भन्ने खुल्दुली लागेको हुन सक्छ म त्यही जिज्ञासा मेटाउने प्रयास गर्दैछु ।
प्यारा विद्यार्थी भाइ, बहिनीहरु हामीलाई पढाउन अल्छि लागेर काठमाडौंको सडकमा देशै भरीका शिक्षक भेला भएका पक्कै होइनौ । शिक्षा क्षेत्रमा राज्यले गरेको अन्याय, असमानता, बेथिति र राज्यले सिर्जना गरेको १७ प्रकारका शिक्षकको समस्या अन्त्य गरि अग्रगामी शिक्षा ऐन लागू गराउन सकेमा आगामी दिनमा अहिलेको हामी शिक्षक वर्गले भोग्न परेको जस्तो पीडा भावी पुस्ताले नपरोस र शिक्षा क्षेत्रमा राम्रो समय अनुकुल सुधारिएको शिक्षा ऐन र अन्य सेवा सुविधा आशा लाग्दो भएमा योग्य, दक्ष र प्रतिभाशाली युवा पुस्ता पनि शिक्षण पेशामा आबद्ध हुने वातावरण सिर्जना भएमा यो देशको शैक्षिक उन्नति, प्रगति अझै राम्रो हुनेछ भन्ने सोँचका साथ शिक्षक आन्दोलन थालनी गरिएको छ । शिक्षा समाज विकासको मेरुदण्ड हो, त्यसैले शिक्षा नीति राम्रो बनोस र मुलुक सिस्टममा चलोस भन्ने लक्ष्यका साथ शिक्षक महासंघको नेतृत्वमा शिक्षक आन्दोलन २०८१ चैत्र २० गतेदेखि संचालन भएको छ । हामी पनि पेशागत हक हितको लागि आन्दोलनको मैदानमा सहभागी भएकाछौ ।

प्यारा भाइ, बहिनीहरु,
हामीले सोचेका थियौँ, केही दिन आन्दोलन गरेपछि राज्यले वार्ता गरेर समस्या समाधान खोज्ला भन्ने आशा गरेर माइतीघर मण्डलामा भेला भयौँ तर सरकारले सुनेन, चैते दशै जहानपरिवार, इष्टमित्र भेला भएर मनाउन पाएनौ, सडकैमा मनायौ ।
नयाँवर्ष पनि आन्दोलनमा एक आपसमा शुभ कामना व्यक्त गर्दै मनाउन बाद्य भयौँ । आज भोलि भन्दा भन्दै २७ औ दिन सम्म हामी आन्दोलनमा छौ । हामीले प्यारा विद्यार्थी भाइ, बहिनीहरुको पठनपाठन र आदरणीय अभिभावक वर्गको बालबालिकाहरु प्रतिको चिन्ता र लक्ष्य हामी कर्तव्यनिष्ट शिक्षकले कदापि बिर्सेका छैनौ । भाइ बहिनीहरुका लागि नयाँ कक्षाको भर्ना र हाजिरी रजिस्टर, अनि नयाँ पुस्तक प्रधानाध्यापकज्युले फोन मार्फत अडर गरेर विद्यालयमा ब्यबस्था मिलाइसक्नु भएकोछ । पुस्तक बितरण गर्न भने आन्दोलनको सिमा मापदण्डअनुसार सकेका छैनौँ । यसमा माफ गर्नुहोला । बरु पासहुनु भएका दाइ, दिदीहरुको पुरानो पुस्तक मागेर पढ्दै गर्नुहोला समयको सदुपयोग गर्दै नेपाली, अंग्रेजीको अक्षर सुधारको लागि दैनिक रुपमा एक एक पाना पाठ सार्ने, चित्र बनाउने, तथा अन्य रचनात्मक कार्यमा अभ्यास्त हुनुहोला भन्ने आशा गर्दछु ।
सुन्दैन यदि सुन्नेले भने भन्नेले मात्र भनेर गर्छ र पो के ?
नाङ्गाको मुलुकमा धोबिले काम खोज्दा पाउछ र पो के ?
भने जस्तै शिक्षा मन्त्री बिद्या भट्टराईले शिक्षकको माग सुनेर समाधानको लागि विकल्पको खोजिमा प्रयास गर्नु भै वार्तामा बसेर निर्णय गर्ने मनसाय गर्नु भएको थियो तर प्रधानमन्त्रीको अडान र हट्को कारणले वातावरण सिर्जना नभएपछि राजिनामा नै दिनुप¥यो ।
न्यायको जित अबस्य हुनेछ भन्ने आशाको साथ आन्दोलनरत छौ । हाम्रो माग सबै पूरा हुन्छ भन्ने पनि होइन तर सम्भावना भए सम्मका मुख्य मागसहित अग्रगामी शिक्षा ऐन लागू भएको भोलिपल्ट नै हामी विद्यालयमा पढाउन आउन हतारमा छौ । यो आन्दोलन हाम्रो रहर नभई राज्यले बनाएको बाद्यता हा,े त्यसैले आदरणीय स्थानीय निकायका पदाधिकारीज्युहरु, समाजसेवी, विद्यालय ब्यबस्थापन समिति, शिक्षक अभिभावक संघ र अभिभावकज्युहरु त आन्दोलनको यथार्थ बारे स्पष्ट हुनुहुन्छ । त्यसैले विद्यार्थी भाइबहिनीहरुले पनि हाम्रो बाद्यतालाई मनन गरी धर्य गरिदिनुहोला भन्दै आन्दोलनबारे छोटो जानकारी गराउदै पत्र बन्द गर्दछु । बाकी कुरा कक्षामै गरौंला ।
– विद्यार्थीको भलो चाहाने शिक्षक
भेदमान बस्नेत, गोरखा, हाल काठमाडौं माइतीघर मण्डला






