—अमृत वस्ती
करिव दुई सय चालिस वर्ष जहानीयाँ शासन राजतन्त्र अन्य गर्दै संघीय गणतन्त्र स्थापना भएको २० वर्ष पनि पुगेको छैन । संविधानसभाले बनाएको कानुन अनुसार भर्खर दुई ओटा निर्वाचन भएको छ । राजनैतिक पार्टीका शीर्ष नेताहरुमा देखिएको चरम पद लोलुप्ता र उनीहरुले पार्टीहरुमा देखाएको नेतातन्त्रले नेपालको राजनैतिक परिदृष्य केही धमिलो बनाएको छ ।
गएको दुई दशकमा विकास भएको छ तर ब्यथिति त्यत्तिकै बढेको छ । खुलम्खुल्ला अरवौंको भ्रष्टाचारको मोल मोलाई गरि नैतिकताको आधारमा राजिनामा दिने मन्त्री माथि छानविन् परको कुरा उसैलाई संसदको सवैभन्दा शक्तिशाली संसदीय समितिको सदस्य बनाई पुरस्कृत गरिएको छ । ब्यथितिका बुँदाहरु लेख्दै जाने हो भने नेपालको संविधान भन्दा ठूलो किताव बन्छ । यो नेतातन्त्रले जनतामा यति नैराश्यता जन्माएको छ कि उनीहरु बरु राजतन्त्र नै ठीक भन्ने अवस्थामा पुग्ने अवस्थामा छन् ।
नेताहरुमा आफ्नो पार्टीमा नेतृत्व हस्तान्तरणको खुल्ला छलफल होइन, सोच्न पनि सक्दैनन् । साना होस् वा ठूला सबै दलमा समान रोग देखिएको छ । पटक पटक प्रधानमन्त्री भएर असफल भएका नेताहरु फेरी उही पदमा जाने लाईनमा छन् । गएको नौ वर्षमा एकाध बाहेक कुनै सरकार पनि एक वर्ष भन्दा बढी टिकेनन् । कतिपय दलहरु यो कारण निर्वाचन प्रणालीमा भएको मान्छन् र विर्सन्छन् हिजो केपी ओली प्रधानमन्त्री हुँदा दुई तिहाई नजिकको शक्तिशाली पार्टी भएको । नेपालमा राजनैतिक अस्थिरता कुनै नियम कानुनको कारण भन्दा पनि नेताहरुमा देखिएको पद लोलुप्ताको प्रवृतिले हो । कुनै पनि दल सरकारको नेतृत्वमा पुग्दा पार्टी विभाजन नभएका घटनाहरु विरलै छन् । नेपालको मुल समस्याको जड यहि हो ।
आज नेपालको राजनीति रोचक मोडमा आइपुगेको छ । शक्तिशाली दुई तिहाईको सरकार छ । राजावादीहरु राजतन्त्रको पुनस्र्थापना गर्न भन्दै चरणबद्ध आन्दोलमा छन् । जनतामा निराशाको भारी छ । सामाजिक संजाल सरकारको विरुद्धमा देखिएको छ । राजावादीहरु यही सरकार विरुद्धको आवाजलाई ब्यवस्था विरुद्ध लैजान योजना बनाई रहेका छन् । केपी ओलीको नेतृत्वमा सरकार गठन भएको आठ महिना वितिसक्दा पनि दुई ठूला दल मिलेर बनेको सरकारले जनतामा केही आश जगाउन सकेको छैन । सरकार विचौलिया र ब्यापारीको चंगुलमा फसेको छ । विपक्षी दल, नागरिक समाज अनि जनताको अवाज सरकार सुन्ने पक्षमा छैन ।
सरकार भने आफ्नो मुल काम विर्सिएर एक जना उच्च तहको कर्मचारी, नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङको पछि लागेर उनलाई बर्खात गरेको छ । नेपाल सरकारको उर्जा मन्त्री एक कर्मचारीलाई असफल देखाउन संसदमा उभिएर अब लोडसेडिङ्ग हुन्छ भनि गर्वका साथ भाषण गर्छन् मानौ अब लोडसेडिङ्ग हुन्छ, कुलमान असफल हुन् । साथै लोडसेडिङ्ग अन्त्यका लागि भारत सरकारलाई धन्यवाद दिउँ भनिरहेका छन् । यसो भन्दै गर्दा म देशको उर्जामन्त्री हुँ र जनतालाई आवश्यक पर्ने उर्जा दिने मेरो जिम्मेवारी हो, सो जिम्मेवारी पुरा गर्न नसक्दा मैले नैतिकताको आधारमा यो पदमा बस्न हुँदैन भन्ने कुरा विर्सिन्छन् । यस्तो गैहृ जिम्मेवार मन्त्रीलाई बर्खास्त गर्नु पर्नेमा प्रधानमन्त्रीले उनै मन्त्रीको सल्लाहमा एक कर्मचारीलाई बर्खास्त गरेका छन् । कार्यकाल सकिन ४ महिना भन्दा कम समय भएको एक कर्मचारीलाई बर्खास्त गर्न के त्यस्तो कारण प¥यो, सरकारले जनतालाई बुझाउन सकेको छैन । यसै पनि जनता नेतातन्त्रले दिक्क मान्दै ब्यवस्थाको विरुद्धमा पुग्न लाग्दा झनै सरकारको यस्तो निर्णयले आगोमा घिऊ थपेको छ ।
नियम,कानुन, दफा उपदफाले सरकारले एक कर्मचारीलाई पुरस्कृत गर्न र सजाय दिन पाउदछ । तर कुलमान माथि सरकारले गरेको यो ज्यादती जनता मान्न तयार छैनन् । सर्ब साधारहण जनता मात्र होईन सरकार सम्मिलित नेपाली काग्रेशका महामन्त्री देखि मन्त्री परिषदका स्वम सदस्यहरुनै यो बर्खास्तीको विपक्षमा उभिएका छन् । यति हुँदा हुँदै पनि कुलमानलाई आजै हटाउन किन आवश्यक प¥यो सरकार भन्न सक्दैन, सदनमा यहि प्रश्न आउदा भाग्छ, उत्तर दिदैन । यो सरकारको सामान्य निर्णय मात्र नभई उर्जा क्षेत्रका माफिया, जल माफियाको चंगुलमा सरकार फसेको छ भन्ने गतिलो उदारहण हो । यसै पनि उर्जामन्त्री दिपक खड्का पहिले देखिनै विवादित पात्र हुन् । रेडक्रसको जग्गा ओडटेर बसेको मात्र होईन उनि स्वम उर्जा ब्यापारी पनि हुन् । उनि मन्त्री भईरहदा नागरिक समाजले कन्फिल्क्ट अफ ईन्टे«ष्ट भयो भनेकै थिए । र हाल यहि भयो पनि ।
अहिलेको समय भनेको सरकारले जनतामा केहि आशवादी हुने काम गर्नु हो । जनतालाई थोरै भएपनि राहाद दिदै अहिलेकै ब्यवस्थाबाट अवस्था परिवर्तन हुन्छ भन्ने विस्वास दिलाउने बेला हो । यसरी सारा जनताले उज्यालो नपालको नायक मानेको कर्मचारीलाई बर्खास्ती गर्दा स्वंव सरकार र ब्यवस्था नै बर्खास्तीको जोखिममा पुगेको छ । राजावादीहरुको आन्दोलनलाई मलजल भएको छ । यस्तो अप्रिय निर्णयको विरुद्धमा सम्मुर्ण जनताको एक स्वर छ, कुलमान होईन, उर्जामन्त्री लाई बर्खास्त गर । उज्यालो नेपालका नायक कुलमान घिसिङ्ग लाई प्रतिस्थापन गर ।
रत्ननगर, चितवन






