विराटनगर । प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत चयन भएका छन् । यसैगरी, उपाध्यक्षमा चेतन अधिकारी र कृपा भण्डारी चयन भएका छन् । महासचिवमा हिरामान लामा नै दोहोरिएका छन् । महाधिवेशनबाट केन्द्रीय समिति सर्वसम्मत घोषणा गरिएको छ ।
अध्यक्षमा दाबी गरिरहेको राजेश राई पक्षले भने निर्वाचनको माग गरेको थियो । निवर्तमान उपाध्यक्ष गणेश पाण्डे र महासचिवमा चेतन अधिकारीसहितको टिमलाई निर्विरोध बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले ठाडो निर्देशन दिएको बताइन्छ । नेताहरूले भनेको आधारमा नेतृत्व चयन गर्नु भनेको टिके प्रथालाई प्रश्रय दिनु भएको भन्दै विभिन्न जिल्ला र प्रदेशबाट आएका केही प्रतिनिधिहरूले भने नेतृत्वप्रति असन्तुष्टि र आक्रोश व्यक्त गरेका छन् ।
बन्द सत्रमा राजेश राईले निर्वाचनमा प्रतिस्पर्धा गर्न खोज्दा विभिन्न प्रहार भएको भन्दै भावुक भाषण गरेका थिए । त्यसपछि बाहिरिएका चौतारीका केही प्रतिनिधिलाई अँगालो हाल्दै राई रोएका थिए । अधिवेशनमा नेताहरूले एकलौटी नेतृत्वको टिम घोषणा गर्न लागेपछि प्रतिनिधिहरू रुँदै हलबाट बाहिरिएका छन् ।
उम्मेदवारी दर्ता गर्न संस्थापनइतर समूहलाई फारमसमेत नदिएपछि मतदानको समय नराखी निर्वाचन तालिका सार्वजनिक गरेको प्रेस चौतारी नेपालले नयाँ नेतृत्वको लागि उम्मेदवारी दिने फारम तोकिएका व्यक्तिहरूलाई मात्रै उपलब्ध गराएको बताइन्छ ।






