काठमाडौँ । पाटन संयुक्त क्याम्पसमा नेविसंघ र अनेरास्ववियुका विद्यार्थीहरूबिच कुटाकुट भएको छ । स्ववियु निर्वाचनका लागि फर्जी मतदाताले मतदान गरेको भन्दै विवाद सिर्जना भएपछि दुई संगठनका नेता तथा कार्यकर्ताबिच कुटाकुट भएको हो । एक जना विद्यार्थीको विद्यार्थी परिचयपत्रमार्फत सात जनासम्मले मतदान गरेको पाइएपछि विवाद सिर्जना भएको थियो ।
दुई संगठनबिच विवाद भएपछि नेविसंघ र अनेरास्ववियु बिच कुटाकुटका क्रममा अनेरास्ववियुका नेताहरू दिनेश श्रेष्ठ र पवन शाही गम्भीर घाइते भएका हुन् । त्यस्तै राजीव अधिकारी, समिक राई लगायतका नेताहरू समेत घाइते भएका छन् । विवाद समाधान गर्ने विषयमा सर्वपक्षीय छलफल गरिएको थियो । तर, छलफलबाट कुनै निष्कर्ष निस्किन सकेको थिएन । पाटन क्याम्पसमा निर्वाचन प्रक्रिया स्थगित भएको छ ।






