काठमाडौँ : भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्युका सम्बन्धमा आवश्यक छानबिन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउने वातावरण निर्माण गर्न सांसदहरुले माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले विश्वविद्यालयमा अध्ययनरत बुटवलकी छात्रा लम्सालको रहस्यमय मृत्युपछि असन्तुष्टि जनाएका विद्यार्थीमाथि दमन भएकाले आवश्यक सुरक्षाको प्रबन्ध गर्नुपर्नेमा जोड दिनुभएको हो । सांसद बिना लामाले भारतमा नेपाली छात्रा लम्सालको रहस्यमय मृत्युबारे गम्भिरतापपूर्वक अध्ययन गरी कुटनीतिक पहल अगाडि बढाउन सरकारसँग माग गर्नुभयो । उहाँले नेपाली विद्यार्थी माथि भएको बल प्रयोगका सम्बन्धमा समेत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद शान्ति बिकले पनि यो मृत्यु प्रकरणको सत्यतथ्य छानबिन गराउनका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले बाँकी अध्ययनरत विद्यार्थीको सुरक्षामा सरकारले गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी सांसद शेरबहादुर कुँवरले लम्सालको रहस्यमय मृत्यु प्रकरणको घटनाले विद्यार्थी माथि भएको अत्याचार नरोकिएकाले भन्दै उनीहरुको सुरक्षाको माग गर्नुभयो । “त्यहाँ पढ्ने विद्यार्थीको मोवाइल खोसिएको छ । विद्यार्थीलाई अलपत्र पारिएको छ । उनीहरुको सुरक्षित वातावरणका लागि कुटनीतिक पहलमा ढिलाई नगरियोस्,” उहाँले भन्नुभयो ।

सांसद शिशिर खनालले पनि नेपाली छात्राको मृत्युपछि त्यहाँको विद्यार्थीलाई सहज ढङ्गले न्याय प्राप्त गर्ने वाावरण बनाउन माग गर्नुभयो । सांसद शान्ति श्रेष्ठले नेपालको कानुनअनुसार बर्जित बालविवाह भइरहेकाले त्यसलाई रोक्न पहल गर्नुपर्नेमा जोड दिनुभयो । सांसद बिराजभक्त श्रेष्ठले सङ्घीयता कार्यन्वयनका लागि आवश्यक ऐनहरु समयमा बनाउनुपर्नेमा जोड दिनुभयो ।

सांसद सीताकुमारी राना, सीता मिजार, सुदन किँराती, सुशिला सिर्पाली ठकुरी, ज्ञानु बस्नेत सुवेदी, सम्झना थपलिया, सरस्वती सुब्बाले नेपाली छात्राको निधनको घटनाप्रति आवश्यक छानबिन गर्न ध्यानाकर्षण गराउनुभयो ।

सांसद शिव नेपालीले पोखरामा जलन उपचारको सुविधाका लागि आवश्यक व्यवस्था गर्न माग गर्नुभयो । सांसद शोभा ज्ञवालीले भ्रमपूर्ण सूचना फैलाउनेहरुलाई कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो । सांसद सृजना राजभण्डारीले पछिल्ला दिनमा विद्यार्थी बोकेका सवारी दुर्घटना बढिरहेकाले दुर्घटना न्यूनीकरण गर्न माग गर्नुभयो ।

सांसद हितराज पाण्डेले बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष बलबहादुर गुरुङले वडासचिव नवीन भुसालमाथि गरेको आक्रमणको घटनाप्रति विरोध जनाउँदै कर्मचारीको आवश्यक सुरक्षाको माग गर्नुभयो ।

सांसद सराज अहमद फारुकी, सांसद सरिता भुसाल, शान्ती चौधरी, सुनिता बराल, सुहाङ नेम्वाङ, सूर्यकुमारी श्रेष्ठ, सूर्यमान तामाङ (दोङ), सोभिता गौतम, संगिता मण्डल धानुक, हेमराज राई, ज्ञानेन्द्रबहादुर कार्की, सुशिला श्रीपाली ठकुरीले राष्ट्रिय तथा स्थानीय विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस् !