नेपाल सरकारले अगामी २०७९ मङ्सिर ४ गते प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सहरी विकास मन्त्री मेटमणि चौधरीले जानकारी दिए ।
सरकारले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको हो । बुधबार साँझ सत्तारुढ गठबन्धनको बैठकको चुनावको मितिबारे सहमति गरेको थियो । चुनावको मिति घोषणा भएसँगै निर्वाचन आयोग तयारीमा जुटेको छ । मिति घोषणापछि आयोगले स्वागत गर्दै स्वच्छ, निष्पक्ष र भयरहित ढंगले काम गर्ने बताएको छ । बिहीबार साँझ आयोगमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले १ सय ७ दिनको अवधीमा अर्जुन दृष्टि लगाएर काम गर्ने बताए ।






