ताप्लेजुङ : ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा आगलागी भएको छ । कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट अचानक आगलागी सुरु भएको छ ।
स्थानीयवासीका अनुसार अहिले बिहान ८ बजे अचानक आगलागी सुरु भएको थियो । आगलागीबाट एक घर जलेको छ भने आगो नियन्त्रणमा आइसकेको छैन । आगलागी नियन्त्रणका लागि स्थानीय र सुरक्षाकर्मी खटिएका छन् । आगलागी नियन्त्रणका लागि फुङलिङ नगरपालिकाको दमकल पुगेको छ । जस्ताले छाएको घरमा आगलागी भएका कारण आसपासका घरसमेत जोखिममा परेका छन् ।
आगो अन्यत्र सल्किए कोप्चेबजार पूरै जोखिममा पर्ने देखिन्छ । थप विवरण आउन बाँकी छ । प्रायः वर्षेनी आगलागीको चपेटामा पर्दै आएको सदरमुकाममा यस वर्ष सुक्खायाम लागेसँगै बजार क्षेत्रमा यो नै पहिलोपटक आगलागीको घटना भएको हो ।
उपचारका क्रममा वृद्धाको मृत्यु
ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चे बजारमा आगलागीमा परी घाइते हुनुभएकी मैवाखोला गाउँपालिका घर भई शिव मादेनको घरमा डेरा गरी बस्नेत ६७ वर्षीय वृद्धा चुलीमाया लिम्बूको उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्ला अस्पताल ताप्लेजुङमा निधन भएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार आगलागीबाट शिव मादेनको घर पूर्णरूपमा जलेको छ भने रवीन्द्र लिम्बूको घरमा आंशिक क्षति पुगेको छ । स्थानीयवासी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो । कोप्चे बजारमा बिहान ८ बजे अचानक आगलागी सुरु भएको थियो ।
–––
–––






