काठमाडौंँ : नेकपा एमालेका पूर्व सांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ठगी र रकम हिनामिनाको आरोपमा तामाङलाई सोमबार पक्राउ गरेको सिआइबीका प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए। तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेपकर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ । सिआइबीका अनुसार हालसम्म ४६ करोडभन्दा बढी रकम ठगी र हिनामिना भएको उजुरी प्राप्त भएपछि तामाङलाई पक्राउ गरिएको ।
इञ्जिनियरिङ पृष्ठभूमिका तामाङले घरजग्गा कारोबारदेखि पूँजीबजार, बैंक र सहकारीसम्मका क्षेत्रमा हात हालेका थिए । २०५७ सालमा सिभिल क्रेडिट एण्ड सहकारी संस्था खोलेका तामाङको आर्थिक क्षेत्रमा संलग्नता दोस्रो जनआन्दोलनपछि अस्वाभाविक ढंगले बढेको थियो । सिभिल ग्रुपभित्र विभिन्न ९ वटा कम्पनी छन् । सिभिल होम, सिभिल अपार्टमेन्ट, सिभिल क्यापिटल मार्केट, सिभिल बैंक, सिभिल इस्टेट, सिभिल इन्टरनेशनल कन्सल्ट्यान्ट, सिभिल ट्रेडिङ, सिभिल बिजनेश कम्प्लेक्स र सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी लिमिटेड इच्छाराज तामाङकै नेतृत्वमा छ ।
सिभिल ग्रुपका विभिन्न संस्था र कम्पनीमा बचत रकम जम्मा गरेका ३२ सय सर्वसाधारणको ७ अर्ब रुपैयाँभन्दा बढी रकम डुबाएर उनी फरार रहेका थिए ।






